काठमाण्डु, २१ भदौ– गोरखा नगरपालिका–१० स्थित बिरिन्चोक नजिकैको खोल्सीमा घाइते अवस्थामा देखिएको चितुवा मृत अवस्थामा फेला परेको छ ।
बजार क्षेत्र नजिकै खोल्सीको झाडीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धारमा ढिलाइ हुँदा मृतावस्थामा भेटिएको हो । मृत भेटिएको चितुवा वयस्क अवस्थाको पोथी चिुतवा रहेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिएका छन ।
‘स्थानीयवासीले चितुवा भेटिएको जानकारी गराएपछि डिभिजन वन कार्यालय गोरखाबाट कर्मचारी परिचालन गरी बुधबार दिनभरि उद्धारको प्रयास गरिएको भए पनि सकिएको थिएन’, उनले भने, ‘बिहीबार उद्धारका लागि सोही स्थानमा पुगेर खोजी गर्दा बिरिन्चोक बजार नजिकै पानी ट्याङ्कीमा चितुवा मृतावस्थामा फेला पर्यो ।’
चितुवाको शरीरमा कुनै चोटपटक नदेखिएको उनले जानकारी दिएका छन । ‘शरीरमा घाउचोट केही छैन ।चितुवालाई कसैले विष खुवाएको वा आफैँ अस्वस्थ भएर मरेको हुनसक्छ’, उनले भने ।
वन डिभिजन कार्यालय गोरखासँग चितुवा उद्धारका लागि डार्ट गर्ने जनशक्ति नहुँदा उद्धारमा ढिलाइ भएको प्रमुख शालिण्यको भनाइ छ ।