नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १३:११ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा सरकारले संगीता पहाडीलाई नियुक्त गरेको छ ।

हिजो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो । ‘बिहीबारको मन्त्रिपरिषद् बैठकले मलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको खबर पाएकी छु,’ पहाडीले भनिन्, ‘आफ्नो चार वर्षे कार्यकालमा टेलिकमलाई अझै उचाइमा लैजाने लक्ष्य छ ।’

पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक रहेकी थिइन । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१ मा स्थायी नियुक्ति लिएकी थिइन् । १८ माघ २०७८ मा नायब प्रबन्ध निर्देशक भएकी पहाडीले दुई पटक टेलिकम प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us