एआईजी ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अस्वीकार

काठमाण्डु टुडे २०८१ भदौ २० गते १८:०९ मा प्रकाशित

काठमाण्डु, २० भदौ– सर्वोच्च अदालतले प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।

प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरीएको थियो । रिट दायर गर्नेमा इन्स्पेक्टर नागेन्द्र ठाकुर पनि छन् ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।

डीआईजीहरु राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि छोटो समयमा अवकाशमा जाँदै छन् । अर्का एआईजी रामदत्त जोशी असोज १६ मा उमेरहदका कारण अवकाश हुन लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us