सुर्खेत, २० भदौ– एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र प्रधानमन्त्री केपी ओलीसँग तुलना नगर्न आग्रह गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बालेनसँग ओलीलाई जोड्न जरुरी नभएको बताए । सञ्चारकर्मीले पोखरेललाई बालेन र प्रधानमन्त्री ओलीबीच टकराबको कारणबारे सोधेका थिए । उनले बालेनको आरोपबारे जवाफ दिन जरुरी नभएको टिप्पणी गरे ।
‘एउटा मेयरले लगाएको आरोपका विषयमा खासै बोल्न आवश्यक छैन’, उनले भने, ‘यसमा प्रधानमन्त्री केपी ओलीलाई जोड्न जरुरी छैन ।’ पोखरेलले एमाले सांसद रेखाकुमारी शर्माले बालिकामाथि श्रम शोषण गरेको विषयमा पार्टीले कुनै निर्णय गर्न जरुरी नरहेको जिकिर गरे ।
पोखरेलले त्यसबारे अदालतले मात्र निर्णय गर्न सक्ने उल्लेख गरे । ‘एकजना मेयरले आरोप लगाउँदैमा सबै सकिन्छ भन्ने होइन । यसमा अदालत छ, अरू निकाय छन् । उनीहरूले प्रमाणका आधारमा फैसला गर्छन्,’ पोखरेलले भने ।
बालेनले एमाले सांसद शर्माले बाल मजदुर राखेको भन्दै कारबाहीका लागि सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । बालेनले बालिबालाई नगर प्रहरीले उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त पोष्ट केही समयपछि हटेको थियो । सरकारले आफ्नो हटाएको आरोप उनले सामाजिक सञ्जालबाटै लगाए । त्यसपछि प्रधानमन्त्री ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलेको छ ।
फरक प्रसंगमा पोखरेलले मुुलुकका युवा धेरै निराश रहेको स्वीकार गरे । यद्यपि उनीहरुलाई तत्काल राज्यले रोजगारी दिन सक्ने अवस्था नरहेको उनको भनाइ थियो । पोखरेलले जनतामा व्याप्त निराशा चिर्ने गरी सरकारले काम गर्नुपर्ने बताए ।