काठमाण्डु, २० भदौ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रोकेको विषयमा प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरूले त्यस विषयमा प्रश्न उठाएपछि गुप्ताले जवाफ दिएका हुन् । काफ्लेले मन्त्रालयसँग समन्वय नगरेका कारण बाध्य भएर आफूले भ्रमण रद्द गरेको बताए ।
उनले विगत ४/५ दिनयता लगातार बोलाउँदा पनि काफ्ले मन्त्रालय नआएको दाबी गरे । उनले पायक पर्ने स्थानमा सरुवा गरिदिन्छु भन्दा पनि काफ्लेले नमालेको टिप्पणी गरे । ‘मैले जिततपुर सिमराबाट पायक पर्ने ठाउँमा सरुवा गरिदिन्छु भन्दा पनि उहाँले मान्नुभएन’, ‘सरकारलाई नटेरेका कारण मैले अन्तिम समयमा भ्रमण रोकेको हुँ ।’
सरुवा हुन नमानेको भन्दै सरकारले अन्तिम समयमा काफ्लेको भ्रमण रोकेको थियो । काफ्ले ९ देखि १३ सेप्टेम्बरसम्म एक कार्यक्रमका लागि अमेरिका जाने तयारी थियो । मन्त्रालयले नै गत ६ साउनमा काफ्लेलाई भ्रमणका लागि मनोनयन गरेको थियो ।
मन्त्री गुप्ताले १८ भदौमा काफ्लेको भ्रमण रोक्ने निर्णय गरेका थिए । बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले पूर्वाग्रह राखेर काफ्लेको भ्रमण रद्द गरिएको भन्दै मन्त्री गुप्तासँग जवाफ मागेकी थिइन् ।
राईले राजनीतिक प्रतिशोधका आधारमा कर्मचारीमाथि डन्डा चलाइएको आरोप लगाइन् । मन्त्री गुप्ताले गत ३ साउनमा काफ्ललाई सरुवा गरेर उनको ठाउँमा चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृत पठाएका थिए । उपसचिव पोखरेल वन मुद्धा खेपिरहेका व्यक्ति हुन् ।
प्रक्रियाविपरीत दुई महिनामै सरुवा गरिएको भन्दै काफ्लेले सर्वोच्चमा मुद्दा दायर गरिन् । ११ साउनमा सर्वोच्चले सरुवाको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । आफ्नो निर्णयविरुद्ध अदालत गएको झोकमा मन्त्री गुप्ताले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भ्रमण नै रद्ध गरिदिए ।