कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:४० मा प्रकाशित

काठमाण्डु, २० भदौ– प्रहरीले कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना लाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी कतार लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय सुवास आले मगर रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आले मगरले पीडितसँग १ लाख रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखेका थिए ।

उनलाई विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दरखास्त दिएका थिए । ओखलढुंगा घर भएका मगरलाई प्रहरीले काठमाण्डु महानगरपालिका–३ महाराजगन्जबाट मंगलबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us