वर्तमान सरकार माफिया र दलालहरूले नै बनाएको हो: ओली

काठमाण्डु टुडे २०८१ भदौ २० गते १५:२८ मा प्रकाशित

काठमाण्डु, २० भदौ– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको आरोप लगाएका छन् । आज बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन ।

उनले वर्तमान ओली सरकार माफिया र दलालहरूले बनाएको दाबी गरेका छन । उनले भने, ‘यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तत्थ्य हो ।

एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुँजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरूको ठूलो हात रहेको बताएका थिए ।’

आगामी मंसिर १३ देखि २३ सम्म काठमाण्डुमा हुन गइरहेको पार्टीको एकता महाधिवेशनबारे जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा उनले आफूहरूले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेका थिए ।

विश्व परिघटनाबारे बोल्दै ओलीले आफ्नो पार्टी प्यालेस्टाइन् जनताको पक्षमा रहेको स्पष्ट पारेका छन । युक्रेन र रसियाबीचको लडाई साम्राज्यवादी स्वार्थको उपज रहेको उनले बताए । त्यहाँ देखिनलाई यूक्रेन देखिए पनि त्यो वास्तबमा अमेरिका र रसियाबीचकै युद्ध रहेको ओलीको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us