काठमाण्डु, २० भदौ– मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगजनी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
त्रिभुवन राजपथको दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् ।
सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले जानकारी दिएका छन ।
कमा १८ जना सवार रहेका थिए । आगलागीबाट मानवीय क्षति नभएको पनि प्रहरीले जानकारी दिएको छ । थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।