जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

काठमाण्डु टुडे २०८१ भदौ २० गते १४:५३ मा प्रकाशित

काठमाण्डु, २० भदौ– सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फिर्ता भएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाण्डु फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

पोखराको सूर्यदर्शन, काठमाण्डुको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राई मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो । उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन ।

‘टोली मलेसिया गएर फर्केको हो, अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन मिल्दैन’, प्रहरी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो ।

पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो । यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो । गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us