०८४ मा एमाले बलियो शक्तिका रूपमा स्थापित हुन्छ: महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ भदौ २० गते १३:४३ मा प्रकाशित

काठमाण्डु, २० भदौ– एमाले महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताएका छन । महासचिव पोखरेलले लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन ।

आज बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको पनि बताएका छन ।

तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने उनले बताएका छन । उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको समेत बताएका छन । साथै उनले नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताएका छन । उनले भने, ‘त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ, ।

साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताए । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन,’उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

काठमाण्डु महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकरावलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us