काठमाण्डु, २० भदौ– नेपाली हिन्दू महिलाहरुको महान चाड तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ ।
तीजको व्रत बस्ने अघिल्लो दिन शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजका दिन दर खाने चलन छ । आज दर खाएकाहरु भोलि दिनभर निराहार व्रत बस्ने गर्दछन् ।
सत्य युगमा पार्वतीले भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत बस्दा महादेव स्वामी पाएको धार्मिक विश्वास रहिआएको छ । आजको दिन आफ्ना छोरीचेलीलाई माइतीमा बोलाई मिठा परिकार खान दिने चलन छ । दरसँगै परिवार वा साथीहरु भेला भएर नाचगानसहित रमाइलो गर्ने पनि चलन छ ।
पहिलापहिला रातिमा मात्र दर खाने चलन चलन रहेकामा आधुनिकतासँगै पछिल्लो समय दिउँसैदेखि दर खाने प्रचलन बढेको छ । यस्तै व्रतको अघिल्लो दिन मात्र दर खाने चलन रहेकामा एक महिना अघिदेखि नै दर खाने प्रचलनसमेत बढेको छ । संस्कृतिविदहरु भने त्यस्तो प्रवृत्तिले मौलिक संस्कृति नै संकटमा पर्ने चिन्ता बढाएको बताउँछन् ।