पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १७:५८ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।

बागलुङबाट पोखरा आउँदै गरेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, कुश्मा–बागलुङ सडकखण्ड अन्तर्गत पर्ने अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिएका छन ।

ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स र बा ०६००१०३०९ नम्बरको बस एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । डीएसपी भुसालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

‘एकजनाको अवस्था अलि सिरियस छ, २ जनाको अवस्था सामान्य छ’, उनले भने । प्रहरीका अनुसार एम्बुलेन्समा २ जना बिरामी र एकजना आफन्त सवार थिए । बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us