डेंगुको संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिएका छन ।

बिरामीमा कडा खालको डेंगु देखिएको उनले जानकारी दिए । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको उनले जानकारी दिए ।

उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण पुष्टि भएको थियो । तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us