इलामको सुकिलुम्बा बिमानस्थलमा भोलिदेखि पुनःउडान हुने

काठमाण्डु टुडे २०८१ भदौ १९ गते ८:२१ मा प्रकाशित


इलाम,१९ भदौ- मौसमका कारण बिगत ३ महिनादेखि बन्द इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल भोलीदेखि सञ्चालनमा आउने भएको छ ।
बर्षायाम सुरु भएसँगै खराब मौसमका कारण उडान गर्न असहज भएका कारण बन्द भएको विमानस्थलबाट हवाई उडान पुनः सुरु गर्न लागेको सो विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताएका छन् ।
गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो । जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन ।

गत बिहीबार उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिंदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको  इन्चार्ज सुन्दासले जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं-इलाम-काठमाडौं उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका-९ मा पर्छ । यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाडौं आवतजावतमा सहज हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us