राजन भट्टराईसहित एमाले नेता बालेनविरुद्ध देउवाकोमा डेलिगेशन गए

काठमाण्डु टुडे २०८१ भदौ १९ गते ७:२५ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– एमाले नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध डेलिगेशन गएका छन् ।
काठमाण्डु महानगरपालिकाले नदी किनार आसपास क्षेत्रमा ४० मिटरसम्मका घर संरचना घटाउन सूचना जारी गरेको विषयमा उनीहरुले देउवाको ध्यानाकर्षण गराए । सर्वोच्च अदालतले नदी किनाराका दुवैतर्फ ४० मिटर खाली गराउन आदेश दिएको थियो ।

अदालतको फैसला कार्यान्वयन गर्न मेयर साहले सूचना जारी गरेका थिए । एमालेले उक्त फैसलाको विरोध गर्दै आएको छ ।

देउवासँग आफूहरुले सरकार न्यायिक पुनरावलोकनमा जानुपर्ने प्रस्ताव राखेको एमाले नेता रामेश्व फुयालले जानकारी दिए । देउवा भेट्न बागमती प्रदेश इञ्चाज राजन भट्टराई, काठमाण्डु इन्चार्ज आनन्द पोखरेल, काठमाण्डु अध्यक्ष दीपक निरौला र फुयालसहितको टोली सभापति देउवा भेट्न मंगलबार साँझ बूढानीलकण्ठ गएको थियो ।

सर्वोच्चको आदेशअनुसार वाग्मती, विष्णुमती, मनोहरा र नख्खु खोलाका दायाँबायाँ थप २०/२० मिटर तथा बल्खु, कर्मनसा, कोड्कु, साङले र महादेव खोलामा पुरानो १० मिटर र नयाँ २० गरेर ३०/३० मिटर खाली गर्नुपर्ने हुन्छ ।

यस्तै धोबीखोलामा पुरानो ९ र नयाँ २० गरेर २९/२९, करखुसी खोलामा पुरानो ६ र नयाँ २० गरेर २६/२६, टुकुचा, सामाखुसी र उपत्यका भई बहने अरू खोलामा पुरानो चार र नयाँ २० गरेर २४/२४ मिटर छाड्नुपर्ने छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us