०८४ को निर्वाचन एक्लै लड्नपर्छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:२३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा हुने निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने घोषण गरेका छन । आज मंगलबार सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका हुन ।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमाले ०८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन । एक्लै लड्छ । बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले गरेको ब्रिफिङ उधृत गर्दै एक पोलिटब्युरो सदस्यले  भने,‘ त्यसका लागि शक्ति निर्माण गर्न आजैदेखि लाग्नुपर्छ ।’

अध्यक्ष ओलीले मिसन ०८४ को तयारी गर्न पनि नेताहरूलाई निर्देशन दिएका छन । त्यसका लागि पार्टीका राजनीतिक सांगठानिक कामलाई चुस्त दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने प्रधानमन्त्री ओलीले नेता हरुलाई निर्देशन समेत दिएका छन । उनले भने, ‘संगठनहरु चुस्त दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन, ‘ग्राउण्डमा योजना बनाएर अघि बढ्नुपर्‍यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो ।’

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेस गरेका थिए । उक्त कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल गरेर निर्णय गर्ने एमालेको तयारी छ । बैठकमा सरकारका कामकारबाहीबारे पनि ओलीले धारणा राखेका थिए । ‘सरकार अहिले राम्ररी चलिरहेको छ । उद्देश्यअनुसार जनताका काम गरिरहेको छ’, ओलीले बैठकमा भनेका छन्, ‘जनतालाई केन्द्रबिन्दुमा राखेर सरकार र पार्टी दुवैले काम गर्नुपर्छ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रस्तुत कार्ययोजनामामाथि पोलिटब्युरो बुधबारको बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताए । प्रस्तावित कार्ययोजनामा सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका बुँदा मुख्य रहेका छन् ।

एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको छ । सोही अनुसार पार्टी नेताहरूलाई जनताको घरघरमा पुग्नेगरी संगठन परिचालन गर्ने र उनीहरूका अपेक्षा बुझेर समस्या समाधान गर्ने पहल गर्ने बताउँदै आएको छ । त्यसका लागि पार्टीले देशभर वैचारिक कक्षा सञ्चालन गर्ने जनाएको छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय तहका नेताहरूको कार्यविभाजन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us