काठमाण्डू, १८ भदौ- सत्तारूढ कांग्रेस सांसद रामहरि खतिवडाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद खतिवडाले सञ्चारमन्त्रीको अभिव्यक्तिको जवाफ मागेका हुन् । ‘सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । हामी सरकारमा भएपनि यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु जिब्रोमा ब्रेक लगाइयोस् ।
सरकार प्रवक्तासमेत रहेका गुरूङले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आइजिपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
यसअघि कांग्रेसका सांसद शंकर भण्डारी र आधा दर्जन बढी पूर्वप्रहरी महानिरीक्षकहरुले सामूहिक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री गुरूङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका थिए ।