काठमाण्डु, १७ भदौ– कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले डसेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । त्यस्तै गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् ।
विष्टलाई निजकै किराना पसलको घर आँगनमा दाहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उनलाई कुन सर्पले डसेको हो भन्ने जानकारी नभएको र घाइते विष्टको अवस्था मध्यम रहेको बताइएको छ ।