काठमाण्डु, १७ भदौ– नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई जथाभावी नबोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।
राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिएका छन । सोमबार बिहान ११ बजे राखिएको कार्यक्रममा करिब दुई घण्टा ढिलो गरी १ बजे आइपुगेका थिए ।
उनले प्रधानमन्त्रीसँगको भेटका कारण ढिलो भएको जानकारी दिएका छन । कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए ।
‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए । अनि तपाईंले भनेको त ठिकै हो । तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु होला र लामो पनि नबोल्नु होला भनेर सचेत गराउनुभयो ।
मैले सचेत भए भनेको छु’ गुरुङले भने । गुरुङले शनिवार पोखरामा आयोजित पत्रकार भेटमा प्रहरी महानिरीक्षकले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए ।
उनले वर्तमान प्रहरी महानिरीक्षकले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दै मन्त्री गुरुङले आक्रोश पोखेका थिए।