काठमाण्डु, १७ भदौ– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार न्याय परिषद् घेरेको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको जानकारी दिएका छन । बारले सर्वोच्च अदालत बार एसोसिएसनसहित उपत्यका बार एकाइका कानुन व्यवसायीहरूलाई २ बजेदेखि ३ बजेसम्म धर्नाका लागि सर्वोच्च परिसरमा उपस्थित हुन अनुरोध गरेको पनि उनले जानकारी दिएका छन ।
बारले आफ्ना सदस्यहरूलाई अनुरोध गर्दै भनेको छ, ‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध धर्ना कार्यक्रम सर्वोच्च अदालत परिसरमा दिनको २ः००–३ः०० सम्म नियमित रूपमा विरोधको कार्यक्रम सञ्चालन हुने हुँदा यसै सूचनामार्फत उपस्थितिको लागि हार्दिक आह्वान गर्दछौँ । ’
बारले यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउने गर्दै आएका थिए । आफूहरूले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले जानकारी दिएकी छन ।