गण्डकीमा प्रकाशबहादुर बने भौतिक पूर्वाधार मन्त्री, मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त भएका छन ।

यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् ।

एमालेबाट केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदा प्रकाशबहादुरले भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्रालय प्राप्त गर्न सफल भएका हुन । केसी अघिल्लो चुनावताका राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।

एमालेबाट पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् ।

एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।एमालेका ४ मन्त्रीमध्ये पद्मा र मित्रलाल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह तथा कृष्ण र प्रकाशबहादुर खगराज पक्षधर हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us