गण्डकीमा एमालेले टुंग्यायो ४ मन्त्रीको नाम, को–को बन्दै छन मन्त्री ?

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– गण्डकी प्रदेश सरकारमा सहभागी हुन एमालले ४ जना मन्त्रीको नाम टुंग्याएको छ । बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमाले टुंग्याएको स्रोतले स्रोतले जानकारी दिएको छ ।

उनीहरुको आजै शपथ ग्रहणको तयारी रहेको छ । पाठक र केसी खगराज अधिकारी निकट तथा बस्याल र जिसी पृथ्वीसुब्बा गुरुङ निकट हुन । गुट र भूगोलसमेत मिलाएर दलका नेता अधिकारीले आज बिहानमात्रै नाम टुंगो लगाएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

गण्डकीमा एमालेभित्र स्थायी कमिटी सदस्य खगराज र उपहासचिव पृथ्वीसुब्बा समूहको गुटगत राजनीति रहेको छ । संसदीय दलका नेता खगराज अधिकारीले यसपटक मन्त्रीमा कुनै अनुहार नदोहोरिने बताएका थिए ।

आइतबारमात्र बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको कार्यक्षेत्र टुंग्याउँदै संख्या पनि ९ बनाएपछि एमालेले पनि मन्त्री हुनेको नाम टुंगो लगाएको हो । पर्वतका बस्यालले प्रदेश सभाको ज्येष्ठ सदस्य भएर सभाध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए । उनी पृथ्वी सुब्बा गुरुङ निकट हुन् । नवलपुरकी पद्मा जिसी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् ।

यसअघि नै मन्त्री बन्ने चर्चा थियो । यसैगरी बागलुङका पाठक खगराज निकट हुन् । उनी प्रदेश सभामा खरो प्रस्तुति राख्ने सांसदका रुपमा चिनिन्छन् । उनलाई यसपटक मन्त्री बनाउन निकै दबाब आएको एमालेका सांसदहरुले बताउँदै आएका थिए । प्रकाशबहादुर केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् ।

केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धकसमेत भएका थिए । केसीलाई मन्त्री बनाउने भएसँगै नेता खगराजमाथि एमाले सांसदबाटै असन्तुष्टि व्यक्त गरिरहेका छन् । २२ जना सदस्य रहेका एमालेबाट मन्त्री हुनेमा धेरै जना आकांक्षी थिए । तर ४ जना मन्त्रीको नाम टुंगो लगाइसकेको बताउँदै अधिकारीले भने, ‘नाम र मन्त्रालयपछि पछिमात्र सार्वजनिक गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us