काठमाण्डु, १६ भदौ– काँग्रेस केन्द्रीय कार्यसमितिले आइतबार तीनवटा प्रस्ताव पारित गरेको छ ।
बैठकले गत १० फागुनमा सम्पन्न महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिका प्रस्ताव परिमार्जनसहित पारित गरेको हो ।
त्यतिबेला महासमिति सदस्यहरुले दिएका सुझावलाई समेत समेटेर परिमार्जनसहित तीनवटै प्रतिवेदन पारित गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो ।
प्रवक्ता प्रकाशशरण महतले उपसभापति र महामन्त्रीद्वयको प्रस्ताव केन्द्रीय समितिले परिमार्जनसहित पारित गरेको जानकारी दिए ।
उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम अघि बढाउने समेत निर्णय गरेको छ ।
उनले आगामी ०८४ को निर्वाचन एक्लै जित्न सक्ने गरी संगठन सुदृढ गर्ने निर्णय गरेको बताए । महतले विधानअनुसार १५औं महाधिवेशन समयमै गर्ने निधो पनि बैठकले गरेको जनाए ।
महतले महामन्त्री शर्माले पेश गरेको ‘एक्जिट पोलिसी’ (बहिर्गमन नीति) बारे थप छलफल गर्दै जाने र पार्टी विधान तथा संविधान संशोधनको समयमा बहस गर्ने समझदारी भएको पनि जानकारी दिए ।