काठमाण्डु, १६ भदौ– कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सत्ता सहकार्य चुनौतीपूर्ण रहेको बताएका छन् ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा थापाले चुनौती सामना गर्न काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीबीच विश्वास र सौहार्दपूर्ण सम्बन्ध हुनुपर्ने बताए ।
माओवादी र एमालेको सरकार बनेपछि आफूहरुले ०८४ सम्म प्रतिपक्षमा बस्ने भने पनि परिस्थितिबस सरकारमा जानुुपरेको उनको भनाइ थियो । फरक प्रसंगमा थापाले ०८४ को निर्वाचनमा काँग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै लड्नुपर्ने बताए ।
मतदाता र कार्यकर्तालाई रुख चिन्हमा मात्र मतदान गर्ने परिस्थितिको सुनिश्चितता गरिनुपर्नेमा उनको जोड थियो ।
सरकारमा मात्र ध्यान नदिई संगठन सुदृढीकरण गर्नेपर्ने र कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा स्थापित गरिने प्रतबिद्धता थापाले जनाए ।