देउवालाई विश्वप्रकाशको आग्रहः अब प्रधानमन्त्री नबन्नुस्

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १८:३५ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबन्न आग्रह गरेका छन । आज आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन ।

उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउन उनले सभापति देउवालाई अनुरोध गरेका छन ।

महामन्त्री शर्माले भने, ‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’ ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिएका छन ।

देउवासँग आग्रह गर्दै भने, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us