काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको बताएका छन ।
आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’
यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए । प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने बताएका छन ।
अर्को एक प्रसंगमा उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताए । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’
‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’
समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए । अब सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उनले बताएका छन ।