काठमाण्डु, १६ भदौ– चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन सकिने बताएका छन । आज आइतबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन ।
उनले भने, ‘चिनियाँ पर्यटकहरुलाई ल्याउन सक्दा‘सालमा धेरै पनि पर्दैन, १० लाख ल्याउन सक्यौं भने धेरै ठूलो कुरा हुन्छ ।’ चीनबाट अहिलेसम्म एक वर्षमा १ लाख ४७ हजार जना पर्यटक आएको देखिएको भन्दै उनले पर्यटक बढाउन पहल गर्ने उनले बताएका छन ।
त्यसका लागि चीनमा नेपालको प्रचारको अवस्था कस्तो छ भन्ने बुझ्ने र चिनियाँ टेलिभिजनबाट नेपालको प्रचार गर्न पहल गर्ने उनले बताएका छन ।
उनले भने, ‘म यहाँबाट जाँदा भिडियो लिएर जान्छु, त्यहाँको टेलिभिजनसँग कम्युनिकेसन गरेर प्रचार प्रसार गरिदिन रिक्वेस्ट गर्नेछु ।’ पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि आफूले पहल गर्ने उनले बताएका छन ।