नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १२:३० मा प्रकाशित

काठमाण्डु, १६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको दाबी गरेका छन ।

आज आईतबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन । उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको पनि बताएका छन ।

उनले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं ।

संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ उनले आफू नेतृत्वको सरकार हुँदा अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने उल्लेख गर्दै यसकै माध्यमबाट समाजवादमा पुग्न सकिने विश्वास पनि व्यक्त गरेका छन ।

सबै क्षेत्रमा युवालाई साथमा लिएर नयाँ एजेण्डा पूरा गर्न सकिने उनले बताए । अर्को एक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको पनि बताएका छन । उनलेआफूले पार्टीको नेतृत्व गरेको ३५–३६ वर्ष पुगिसकेको पनि बताएका छन । उनले भने, ‘पार्टी नेतृत्व भनेको आन्दोलन र इतिहासको मूल्याङ्कनबाट तय हुन्छ, विधिबाट आउँछ, सधैँ म मात्र नेतृत्वमा बसिरहनुपर्छ भन्ने होइन, एउटा सिस्टम बनाएर उत्तराधिकारी तयार गर्ने विषयमा छलफल भइरहेको छ ।

पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु ।’

उनले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको र पार्टी झन एकढिक्का भएको पनि बताएका छन । समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने क्रम पनि अघि बढ्ने अध्यक्ष प्रचण्डले जानकारी दिएका छन ।

यसैबीच अध्यक्ष नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन पनि दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us