विराटनगर, १५ भदौ– मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत फेला परेका छन् ।
स्थानीय नारायण न्यौपानेको केरा बारीभित्र ३ वर्षीया आयिका कार्की र उनकी बहिनी १ वर्षकी अर्पणा मृत फेला परेका हुन् । उनीहरु धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्कीका छोरीहरु रहेको प्रहरीले जनाएको छ ।
मृतकहरुकी आमा २९ वर्षीया अस्मिता न्यौपाने परिवारको सम्पर्कबाहिर छिन् । कार्की परिवार सुन्दरहरैँचा–७ मालती टोलमा डेरामा बस्दै आएको थियो ।
मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले अर्जुन र अस्मिताबीच शुक्रबार साँझ विवाद भएको जानकारीमा आएको बताए ।
विवादपछि अस्मिता दुवै छोरी लिएर घरबाट निस्किएकी थिइन् ।
शव भेटिएको स्थान नजिकै किटनाषक औषधिको बट्टा फेला परेको छ । मृत्युको कारण भने पोष्टमार्टमपछि खुल्ने डीएसपी बस्नेतले उल्लेख गरे । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।