काँग्रेस–एमाले अनुभवी लुटेरा हुन्ः रवि लामिछाने

काठमाण्डु टुडे २०८१ भदौ १५ गते १९:२० मा प्रकाशित

काठमाण्डु, १५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनबाट मुलुकले कुनै आशा गर्न नसक्ने बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले तीन वर्ष बाँडीचुँडी खानेबाहेक यो सरकारले केही गर्न नसक्ने टिप्पणी गरे ।

लामिछानेले सत्तारुढ काँग्रेस र एमालेलाई ‘अनुभवी लुटेरा’ को संज्ञा दिए । ०८४ सालमा देशमा घट्ने बज्ने र लुटेराहरुको सत्ता गुम्ने दाबी उनको थियो । ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन’, उनले भने, ‘हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला । २०८४ मा त घण्टी बज्छबज्छ ।’

फरक प्रसंगमा उनले कर्णालीको विकासका लागि रास्वपोल जित्नुपर्ने दाबी गरे । लामिछानेले पार्टीमा घण्टी बोकेर हिंड्दैमा कसैले अवसर नपाउने भन्दै जनताको मन जित्ने गरी प्रतिस्पर्धामा लाग्न कार्यकर्तालाई निर्देशन दिए । ‘घण्टी बोकेर मात्र जितिँदैन । जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने ।

लामिछानले आफूलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोच ठूला दलमा रहेको भन्दै त्यो असम्भव रहेको दाबी गरे । २०७९ मा झिल्को बनेको रास्वपा २०८४ मा राँको बनेर आउने उनको भनाइ थियो ।

फरक प्रसंगमा उनले आफूले सहकारी ठगी नगरेको प्रष्टीकरण दिए । १२/१४ महिनासम्म आफूविरुद्धको प्रमाण खोजेर हिंडेका पुराना दलले अझैसम्म प्रमाण नभेटेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us