केपी ओली र मलाई मिलाउन रामेश्वर थापाको ठूलो भूमिका छः देउवा

काठमाण्डु टुडे २०८१ भदौ १५ गते १९:०९ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन अन्नपूर्ण मिडिया नेटवर्कका अध्यष क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् ।
थापाद्वारा लिखित पुस्तकको शनिबार राजधानीमा आयोजित विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी ओली र आफूलाई नजिक ल्याउन थापाले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मलाई नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठूलो योगदान छ । धेरै ठूलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

देउवाले क्याप्टेन थापालाई प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि यथार्थमा थापा सबैलाई सहयोग गर्ने मान्छे भएको समेत बताए । ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यसकारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो,’ उनले भने । (न्यूज एजेन्सी नेपालबाट)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us