विश्वप्रकाश भन्छन्ः अब एकै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्नु हुँदैन

काठमाण्डु टुडे २०८१ भदौ १५ गते १९:०२ मा प्रकाशित

काठमाण्डु, १५ भदौ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पारित हुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त प्रस्ताव आफूले प्रस्ताव गरेको र केन्द्रीय समितिले भोलि त्यसलाई पारित गर्ने बताए । ‘अलीअली समस्या र विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि काँग्रेसको केन्द्रीय समितिबाट पास हुन्छ,’ उनले भने ।

उक्त दृष्टिकोण पार्टीको दृष्टिकोण बने भोलिका लागि सबै राजनीतिक दलहरुलाई प्रभाव गर्ने महामन्त्री शर्माले बताए । ‘यदि त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै । यस्ता रुपान्तरणका थुप्रै मुद्दाहरु अब तपाईं हामीले उठाउन जरुरी छ,’ उनले भने ।

नागरिकहरूलाई पनि सधैँ उही अनुहार प्रधानमन्त्री भइरहँदा नयाँ नेतृत्व कहिले आउँछ भन्ने चासो रहेको बताए । ‘उहाँ चार चोटी प्रधानमन्त्री बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे । उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ,’उनले भने, ‘त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुईपटक प्रधानमन्त्री भएपछि तीनपटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन ।’ (न्यूज एजेन्सी नेपाल)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us