रुपन्देही जिल्लाको विकास कसरी गर्ने भन्ने खाका मसँग छः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ भदौ १५ गते १३:२५ मा प्रकाशित

बुटवल, १५ भदौ– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवल नभएकामा गुनासो नगर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रादेशिक अस्पताल भवनको शनिबार बुटवलमा शिलान्यास गर्दै पौडेलले प्रदेश राजधानी भएन भनेर सधैँ गुनासो नगर्न भनेका हुन् । उनले प्रदेश राजधानी नभए पनि विकास कसरी गर्नुपर्छ भन्ने योजना बनाउन आग्रह गरे ।

पौडेलले चार अक्षरको राजधानीले मात्र विकास नहुने टिप्पणीसमेत गरे । ‘बुटवल राजधानी भएन भनेर गुनासो गरेको सुन्छु । तपाइँहरुलाई राजधानीको चार अक्षर चाहिएको हो कि विकास र पूर्वाधार चाहिएको हो ?’, पौडेलले जिल्लाबासीसँग प्रश्न गरे ।

उनले आफूहरुको प्रयासका कारण जिल्लाको विकास र पूर्वाधार निर्माणको अवस्था गर्व गर्न लायक रहेको बताए । आफूसँग भविष्यमा जिल्लालाई कस्तो बनाउने भन्ने खाका रहेकाले साथ दिन पनि अपिल गरे ।

फरक प्रसंगमा पौडेलले वर्तमान सत्ता गठबन्धन जनताको अवस्था परिवर्तनका लागि निर्माण गरिएको दाबी गरे । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेका कारण काँग्रेस र एमाले मिलेको र त्यसको असर अर्थतन्त्र सुधारमा देखिन थालेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us