सर्वोच्चद्वारा आफ्नै अन्तरिम आदेश खारेज, डिआईजीसहित सय बढी प्रहरी अधिकृत अवकाशमा जाने

काठमाण्डु टुडे २०८१ भदौ १४ गते २१:०० मा प्रकाशित

काठमाण्डु, १४ भदौ– सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि आफैंले दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको इजलासले शुक्रबार अन्तरिम आदेश खारेज गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामसाहपथमा कार्यरत एसएसपी जीवनकुमार श्रेष्ठले ३० वर्षे हटाउन माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले गत ६ भदौमा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश फुयालको आदेश खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो ।

योसँगै एक डीआईसहित नेपाल प्रहरीका ८९ र सशस्त्र प्रहरीका १८ प्रहरी अधिकृत ३० वर्षे सेवा अवधि सकिएपछि आगामी १६ भदौमा एकैसाथ अनिवार्य अवकाशमा जाने भएका छन् । उनीहरु सबै २०५१ साल भदौ १६ गते प्रहरी सहायक निरीक्षकमा भर्ती भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us