ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १४ गते २०:४० मा प्रकाशित

काठमाण्डु, १४ भदौ– गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि ट्राफिक प्रहरीमाथि अभद्र व्यवहारमा उत्रिएका चारजना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरी परिसरका डिएसपी राजन कार्कीले कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, झापा बाह्रदशी गाउँपालिका–५ का ३१ वर्षीय सुवास बस्नेत, रामेछाप खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुर चौदण्डीगढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर पक्राउ परेका जानकारी दिए ।

मंगलबार विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुविरुद्ध शुक्रबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले थुनामा राख्न ५ दिनको म्याद थप गरेको छ ।

गत ३१ साउनमा मध्यपुरथिमी नगरपालिका–३ गठ्ठाघरमा ना६ ख२१७३ नम्बरको ट्रकले बा४९प८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाउँपालिका–४ खहरेका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us