काठमाण्डु, १४ भदौ– टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार उनीहरुलाई धरौटीमा छाडेको हो ।
प्रहरीले सोमबार ओली र देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको भन्दै सुर्खेतका गोपीराज जैसी, अछामका रामबहादुर बुढा र दीपकसिंह ठगुन्नालाई पक्राउ गरेको थियो ।
सार्वजनिक शान्तिविरुद्धको कसुर गरेकाले उनीहरुलाई जनही ९ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगेलले जानकारी दिए ।
यद्यपि नाराबाजी गरेकै आधारमा चार दिनसम्म हिरासत राख्नुपर्ने कारणबारे सरकारले स्पष्ट खुलाएको छैन ।
सुरुमा सरकारी एजेन्सीहरुले कसैलाई पक्राउ नगरिएको भन्दै झुठो सूचना दिएका थिए । यद्यपि सञ्चार माध्यमले तीन जना पक्राउ परेको बाहिर ल्याएको थियो ।