बारामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १८:१३ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

यादव आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन । उनका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको हो ।

मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us