काठमाण्डु, १४ भदौ– मुख्य सचिव बढुवामा असन्तुष्टि जनाउँदै सचिव तोयानारायण ज्ञवालीले राजीनामा बुझाएका छन । हिजो बिहीबारको मन्त्रिपरिषद् बैठकले चौथो नम्बरका सचिव एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्तिको निर्णय लिएसँगै सबैभन्दा वरिष्ठ सचिव ज्ञवालीले राजीनामा दिएका हुन ।
सरकारले आफूभन्दा कनिष्ठलाई नियुक्त गरेपछि अर्यालले राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । वरिष्ठताको आधारमा आफूलाई मुख्य सचिव बनाउने छनक नपाएपछि उनी बुधवार दिउँसोदेखि नै कार्यालय गएका थिएनन् । बिहीबार ज्ञवालीले राजीनामा नै दिए । ज्ञवाली राष्ट्रिय योजना आयोगमा सचिव थिए ।
ज्ञवाली पहिलो, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई तेस्रो वरीयताका सचिव हुन् । ज्ञवालीको कार्यकाल यही २२ गते सकिँदै थियो । मन्त्रिपरिषद्ले उनको राजीनामा बिहीबार नै स्वीकृत गरिसकेको छ ।