काठमाण्डु, १४ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन कानुन (टीआरसी) बनेपछि देश विकासको बाटोमा अघि बढ्ने बताएका छन ।
आज शुक्रबार बुढानीलकण्ठको पार्क भिजेलमा आयोजना भएको दिर्द्यराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचनको अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले हिजो र आजको परिस्थिति फरक भएको भन्दै अहिलेको प्राथमिकता देश विकास हुने बताएका छन ।
उनले भने, ‘टीआरसी सर्वसम्मत संसदबाट पारित गरेका छौँ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुन बनेको छ‚ ‘पुरानो द्वन्द्व काटमार सबै कुरा अन्त्य हुने विश्वास छ । नेपाल विकास लगायत अत्यन्तै महत्त्वपूर्ण काममा अघि बढ्ने विश्वास छ ।’ सभापति देउवाले जनयुद्धताका धेरै लडाइँ भएको भन्दै लडाइँमा जित्ने वा हार्नेभन्दा पनि शान्ति प्रक्रिया महत्त्वपूर्ण भएको पनि बताएका छन ।
उनले भने, ‘राजासँग लडाइँ परेको छ मलाइ पनि थुनेको छ । झन्डै मारिसकेको थियो शाही आयोग गठन गरेर दुःख दियो‚ ‘राजाले अति गरेर सबैलाई दुःख दिएपछि ठिक ठाउँमा राख्नुपर्दछ भनेर गणतन्त्रको बाटोमा हामी आएको हो ।’ सभापति देउवाले अहिलेको बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र भएको भन्दै यसलाई स्थायी रूपमा स्थापित गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘कतिपय कुरा संविधानमा संशोधन हुने कुरा छ । सबैले आवश्यक ठाने हुन्छ । संविधान समावेशी र समानुपातिक व्यवस्था छ‚ ‘यसमा कतिपय मान्छे चुनावबाट आउन सक्दैन उहाँहरूलाई कुनै किसिमले राज्यसत्तामा समावेश गरिनुपर्छ । यो महत्त्वपूर्ण कुरा हो । यसमा अध्ययन गरेर अझ बढी राम्रो बनाउन सकिन्छ ।’
सभापति देउवाले संविधान संशोधन गराउन सक्ने अवस्था भएपनि संविधानको फन्डामेन्टल कुरामा परिवर्तन हुन नसक्ने भन्दै थपे‚ ‘समावेशीको आधारमा संविधान बनेको छ, सबै नेपाली अटाउने संविधान छ । कति देशले संविधान र समावेशितालाई धन्यवाद र बधाई दिएका छन् । राम्रो कुरा पनि लेखेका छन् ।’
देउवाले सबैभन्दा महत्त्वपूर्ण विषय लोकतन्त्र र मानवअधिकार भएकाले निर्बाध रूपमा डर त्रास मुक्त समाज निर्माण गर्ने र अझ मुलुकलाई अन्य देशको भन्दा भाइब्रेट डेमोक्रेसीलाई अघि बढाउनुपर्ने पनि बताएका छन ।