काठमाण्डु, १४ भदौ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले योगको माध्यमबाट नेपाललाई संसारमा चिनाउन सकिने बताएका छन । आज शुक्रबार जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा भएको स्वजागरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।
उनले नेपाल योगका लागि जन्मभूमि रहेको उल्लेख गरे । उनले भने, ‘मानिसहरूलाई आध्यात्मिक रूपमा अघि बढ्न, आन्तरिक खुसी र शान्तिपूर्ण जीवनका लागि योग जरुरी छ, ‘हामीले योगको प्रचार गरेर संसारमा चिनिन सक्छौँ ।’
ऋषिमुनिहरू र बुद्धको तपोभूमि नेपाललाई विश्वमाझ आध्यात्मिक केन्द्रको रूपमा स्थापित गर्न सकिने पनि उनले बताएका छन । संघीय संसदका सदस्यहरूका लागि आयोजना गरिएको योगाभ्यास सम्बन्धीको स्वजागरण कार्यक्रमको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।