काठमाण्डु, १४ भदौ– अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
काठमाण्डुबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साँझ ठक्कर दिँदा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।
मृतकको सनाखत भएको हुन नसकेको प्रहरीले जनाएको छ । उनलाई ठक्कर दिने बस चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेकै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृत फेला परेकी छन् । बिहीबार अपराह्न घरबाट हराएकी उनलाई दाप्चा खोलाको दहमा मृत फेला परिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।