राम्रो टिम बनेपछि नेतृत्व छोड्छु: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ १४ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन ।

आज पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने पनि बताएका छन ।

अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको पनि बताएका छन । उनले भने, ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’ उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने पनि बताएका छन ।

उनले थपे, ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन ।’ उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताएका छन ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरे । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us