काठमाण्डु, १४ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन ।
नेकपा माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो ।कोशीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ ।
माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । यद्यपि सत्तापक्षको कुर्सीमा बस्ने उसले जनाएको छ ।