काठमाण्डु, १४ भदौ– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले सचिव योगेश भट्टराईले माओवादी सशस्त्र युद्धलाई हिंसा भनेकामा समर्थन जनाएकी छन् ।
झाँक्रीले भट्टराईले बिहीबार गरेको फेसबुक पोष्टमा कमेन्ट गर्दै भनेकी छन्, ‘खत्रा आयो दाई’ । झाँक्री बुधबार जयन्ती राईसँग समाजवादीको उपाध्यक्षमा पराजित भइन् । बिहीबार भने उनी पोलिट्ब्युरोमा निर्वाचित भइन् ।
झाँक्री र भट्टराई नेकपा विवादका बेला माधव नेपालको साथमा थिए । एमाले विभाजन गर्न झाँक्रीले माधव नेपाललाई हात समाएर निर्वाचन आयोग लगेकी थिइन् । एमाले अध्यक्ष केपी ओलीलाई प्रतिगामी र संविधानविरोधीको संज्ञा दिँदै आन्दोलनमा उत्रिएका भट्टराई एमालेमै बसेका थिए ।
बुधबार प्रतिनिधिसभामा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिएपछि भट्टराई माओवादी सांसदल, कार्यकर्ता र समर्थकको खेदाइमा परेका छन् ।
बिहीबार प्रतिनिधिसभामा उनीमाथि केही माओवादी सांसदले हतियार तस्करीसम्मको आरोप लगाए ।
त्यसपछि भट्टराईले फेरि लेखे, ‘निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुटने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने, रक्तचन्दनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने, तिमीहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ । तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु । तिम्रा धमकी र फरेबले मेरो ईमान डगमगाउने छैन । कालो तिम्रो अनुहारमा छ । सिसा फुटाएर उन्मुक्ति पाइने छैन । चेतना भया’, भट्टराईले लेखेका छन् ।
भट्टराईको पोष्टमा कमेन्ट गर्ने अधिकांशले भने उनीमाथि हतियार तस्करको आरोप लगाएका छन् । नेकपाको समयमा जनयुद्ध दिवस लेखिएको ब्यानरमुनि भाषणा गरिरहेको उनको तस्बिर माओवादी कार्यकर्ताले खोजीखोजी पोष्ट गरिरहेका छन् ।
यस्तै प्रतिनिधिसभा विघटनको समयमा एमाले अध्यक्ष ओलीबारे उनले दिएका अभिव्यक्ति पनि सामाजिक सञ्जालभर भेटिन थालेका छन् ।