काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री केपी ओलीले बंगलदेश र श्रृलंकाको जस्तै अराजकता र अशान्ति मच्चाउन खोज्ने अबाञ्छित समूहलाई कडाई साथ नियन्त्रणमा लिइने बताएका छन् ।
एमाले मुख्यालय च्यासलमा बिहीबार पार्टी सचिवालयको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै उनले श्रीलंका र बंगलादेशको घटनाबाट अराजकतावादी समूह उत्साही भएको र मुलधारका राजनीतिक दलका नेतामाथि आक्रमण बढाइएको बताए ।
ओलीले गौरापर्वका अवसरमा आफू र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिनुलाई अराजकताको संज्ञा दिए । लोकतन्त्रविरोधी तत्वहरूले प्रमुख दलका नेतामाथि गालीगलौज र आरोपित गर्ने तथा सार्वजनिक कार्यक्रम बिथोल्ने प्रयास गरिरहेको नेताहरुलाई सुनाए ।
उनले सरकार कानूनी रुपमा त्यसलाई कडाइसाथ नियन्त्रण गर्ने दिशामा अघि बढेको भन्दै प्रतिवादमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिए ।
रुस–युक्रेन र इजरायल–हमास युद्ध, बंगलादेशको राजनीतिक उथलपुथलजस्ता घटना देखाएर नेपालमा पनि अराजक समूहले अशान्ति मच्चाउन सक्ने उनको भनाइ थियो ।