गैरसहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १७:२० मा प्रकाशित

काठमाण्डु, ५ भदौ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण भएको बताएका छन । आज बुधबार काठमाण्डुमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने पनि बताएका छन । उनले देशबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने दाबी पनि गरेका छन ।

प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको दाबी गरेका छन । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताएका छन । उनले स—साना पुँजीले अलि ठुला कामहरू गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।

उनले भने, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैरसहकारी तत्त्वहरू केही सहकारीमा प्रवेश गरे । सहकारी अचानक ठुला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् ।

सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्त्वहरू त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ ।

अघि बढाउनु पर्छ । सच्चा सहकारीहरुको व्यापक नेटवर्क बनाउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us