काठमाण्डु, ५ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने बताएका छन ।
आज बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले यस्तो बताएका हुन । उनले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको जानकारी गराएका छन ।
‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ । यसैगरी रास्वपाले महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरणका लागि मौका दिएको छ ।
उनलाई यसअघि रास्वपाले साधारण सदस्यबाहेक अन्य पदीय जिम्मेवारीबाट मुक्त गरेको थियो । बुधबारकै बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन भाग लिने निर्णय पनि गरेको छ ।
साथै बैठकले बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पार्टीको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको छ ।