हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– आज बुधबार हुम्लामा भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या परेको छ । बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भउका थिए ।

जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।सामान्य घाइतेको हुम्लाकै दार्मा स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई जिल्ला अस्पताल मुगुतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन ।

घटनास्थल हुम्ला र मुगुको सिमानामा पर्छ । घटनास्थलबाट मुगु सदरमुकाम पुग्न ५ घण्टा लाग्ने भएकाले गम्भीर घाइतेहरूको उपचारमा समस्या भएको डीएसपी खनालले जानकारी दिएका छन ।

गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाउनुपर्ने भए पनि खराब मौसमका कारण हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको डीएसपी खनालले जानकारी दिएका छन ।

हेलिकप्टर उड्न नसक्ने भएपछि गम्भीर गाइतेहरुलाई गाडीबाटै मुगु जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ‘गाडी बिहानै पठाएका हौँ तर भौगोलिक विकटताका कारण गाडी अस्पताल पुग्न अझै साढे दुई घण्टा लाग्छ भन्ने जानकारी प्राप्त भएको छ’ उनले भने । घाइतेहरूको उद्धारको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमका कारण समस्या भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी वीरबहादुर वलीले जानकारी दिएका छन ।

‘सुर्खेत एयरपोर्टमा हेलिकप्टर तयारी अवस्थामा छ । मौसम खुलेपछि जान्छ’, उनले भने । घुम्तीमा पछाडि हटाउने क्रममा जिप सडकदेखि १५० मिटर तल खसेर दुर्घटना भएको थियो । त्यस क्रममा एक जना स्थानीयको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us