एसमोड र हुल्ममा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध

काठमाण्डु टुडे २०८१ भदौ ५ गते ८:३८ मा प्रकाशित

सुर्खेत, ५ भदौ– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सुर्खेत –जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो जाँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धित निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीबासीले सास्ती पाउँदै आएका छन् ।

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण सयौं यात्रु अलपत्रमा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us