काठमाण्डु, ४ भदाै – प्रतिकूल मौसमका कारण आज आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा र भरतपुरका उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् ।
आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको महाप्रबन्धक निरौलाले बताए । ‘ खराब मौसमका कारण भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन, अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ’ उनले बताए ।
त्यसैगरी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान नभएको र वर्षा कम भएसँगै भिजिबिलिटीमा सुधार आए केही बेरपछि उडान हुने जानकारी आएको उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।